देशका विभिन्न ठाउँहरूवाट विभिन्न दैवीय प्रकोपले पीडित भएका कारणले सुकुम्वासी जीवन व्यतीत गर्न वाध्य भएका जनतालाई तत्कालीन नेपाल पुनर्वास कम्पनी प्रा.लि. योजना कार्यालय, कञ्चनपुरवाट जग्गा प्राप्त गरी २०३४ सालमा यस क्षेत्रमा स्थायी बसोवास गर्दै आउने क्रममा नेपाल पुनर्वास कम्पनी प्रा.लि. कञ्चनपुरले साविक वाइसी विचवा गाउँ विकास समिति अन्तर्गत वडा नं. ८ र ९ को बीचमा पर्ने गरी (हाल पुनर्वास नगरपालिका—११) ६ विगाह जमिन विद्यालय स्थापनाका लागि उपलब्ध गराई तत्कालीन योजना प्रमुख श्री बुद्धि बहादुर बुढाथोकी ज्यू लगायतका स्थानीय अभिभावक श्री सुरेन्द्र थापा, श्री पहलमान तामाङ, श्री बल बहादुर तामाङ, श्री धर्म सिंह खडका, श्री बामदेव घिमिरे, श्री गोमती सुनार, गोमादेवी पाठक लगायतका अन्य समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमीको प्रस्ताव तथा अग्रसरतामा उहाँहरूकै अथक प्रयासबाट मिति २०३४ साल माघ २३ गतेको शुभ दिनबाट कक्षा १ देखि ३ सम्म कक्षा सञ्चालन सुरु गरी पुनर्वास ग्रामीण आवास कम्पनीबाट २०३४।११।१० गते विद्यालय सञ्चालन अनुमति प्राप्त गर्दैै सोही मितिमा सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जवाट समेत विद्यालय सञ्चालन अनुमति प्राप्त गरि साविक बाइसी विचवा गा.वि.स. वडा नं. ८ अमरबस्तीमा श्री राष्ट्रिय प्राथमिक विद्यालय, अमरवस्ती नामाकरण भई यस विद्यालयको स्थापना भयो । जसको सञ्चालन र रेखदेखका लागि समाजसेवी श्री सुरेन्द्र वहादुर थापा ज्यूलाई संयोजक तोकियो । यसै अवस्थामा खुला चौरमा कक्षा सञ्चालन भयो ।
विद्यालय समुदायको गहना हो भन्ने मान्यतालाई उच्च सम्मान गर्दै नव स्थापित विद्यालयलाई यहाँका जनताले उच्च उपलब्धि र सामाजिक समृद्धि र शैक्षिक उन्नयनको उत्कृष्ट गोरेटोको रुपमा अङ्गीकार गरी यस विद्यालयको सर्वाङ्गीण विकासका लागि हातेमालो गर्दै अगाडि वढ्दै गएको देखिन्छ । विद्यालयलाई शैक्षिक, भौतिक, आर्थिक र सामाजिक रुपमा सक्षम र सबल बनाउनका निमित्त यहाँका सम्पूर्ण वुद्धिजीवी, शिक्षाप्रेमी र समाजसेवीको संयुक्त पहल र प्रयासमा ६ कोठे काठको भवन तथा १ कोठे कार्यालय काठ र माटोको चिनाइ र टायलको छाना बनाई २०३४/०३५ मा भवन निर्माण गरियो । समयको गतिसँगै शैक्षिक सत्र २०४०/०४१ मा ४ र २०४१/०४२ मा कक्षा ५ को अनुमति प्राप्त गरी ५ जना शिक्षकको दरवन्दीका सहायताले पठनपाठन कार्य अगाडि बढ्यो । विद्यालयको आवश्यकता र विकसित सामाजिक धारणाले गर्दा वि.सं. २०४८/०४९ सालमा सात कोठे पक्की भवन निर्माणका लागि तत्कालीन वि.व्य.स. अध्यक्ष श्री प्रेम बहादुर थापा र प्र.अ. श्री खेमानन्द उपाध्याय गौतम लगायत शिक्षक कर्मचारीहरूवाट ५००।– देखि दुई महिना सम्मको पारिश्रमिक एवं स्थानीय जनतावाट रु. ५१।– देखि यथासक्य आर्थिक सहयोग सङ्कलन गरी वि.सं. २०५०/०५१ सालमा सातकोठे पक्की भवनको जग सम्म तयार गरियो । आर्थिक समस्याले निर्माण कार्य रोकिएको अवस्थामा स्थानीय जनता तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा २०५८/०५९ सालमा उक्त सात कोठे भवनको निर्माण कार्य सम्पन्न गरियो । समयको प्रवाहसँगै २०५७/०५८ सालमा आधारभूत प्राथमिक शिक्षा परियोजनाको अनुदान तथा जाइकाको सहयोगमा क्रमशः दुइ–दुई कोठे भवनको निर्माण कार्य सम्पन्न भयो ।
२०६१/०६२ तिर विद्यालय सुधार योजना अन्तर्गतको तथा विद्यालयमा रहेको स्रोतको समेत परिचालन गरी थप एक दुई कोठे भवन निर्माण गर्दै २०६३/०६४ मा थप एककोठे भवन निर्माण गरी पठनपाठन कार्य सहज बनाउन आवश्यक व्यवस्था गर्न सकियो र आर्थिक वर्ष २०७१/०७२ मा जि.शि.का., गा.वि.स. र विद्यालयको लगानीवाट पूर्ण पक्की भवन निर्माण गरिएको छ । विद्यालयको महत्वपूर्ण पक्ष शैक्षिक समृद्धि नै हो । वि.सं. २०३४ मा कक्षा १ देखि ३ सम्मको अध्यापन अनुमति प्राप्त पाएको यस विद्यालयले वि.सं. २०४०/०४१ मा कक्षा ४ र २०४१/०४२ मा ५ को अनुमति प्राप्त गरी राष्ट्रिय प्राथमिक विद्यालय अमरवस्ती बन्न पुग्यो । यसै गरी यहाँको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै निम्न माध्यमिक तह सञ्चालन गर्नु मुनासिब देखिएकोले वि.सं. २०६२ मा कक्षा ६ र २०६३ मा ७ र २०६४ मा कक्षा ८ को अध्यापन अनुमति प्राप्त गरी शैीक्षक वर्ष २०६४/०६५ मा निम्न माध्यमिक तहमा अध्यापन गर्न तीन राहत दरबन्दी समेत प्राप्त भएको देखिन्छ । समय वढ्दै जाँदा यस विद्यालयले वि.सं. २०६६ मा कक्षा ९ सञ्चालन गरी २०६७ मा कक्षा १० को अनुमति प्राप्त गरी २०७१/०७२ मा माध्यमिक तहको स्वीकृत दरवन्दी प्राप्त गरी श्री राष्ट्रिय माध्यमिक विद्यालय सञ्चालित भयो ।
बालकेन्द्रित रचनात्मक सिकाइ मार्फत उच्चतम सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, स्वयम्प्रेरित एवम् लगनशील जनशक्ति उत्पादन गर्ने संस्थाको रूपमा विकास हुने छ ।
- औसत सिकाइ उपलब्धि वृद्धिगर्ने
- विद्यालय वातावरणलाई सुरक्षित हरियाली एवम् बालमैत्री बनाउने
- विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने
- विद्यालयका सबै कार्यकलापमा समुदाय/अभिभावकको संलग्नता बढाउने
- बालबालिकामा स्वच्छ प्रतिस्पर्धात्मक बानी विकास गर्ने
