विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि राम्रो विद्यालय (Better school), राम्रो शिक्षण (Better teaching) र राम्रो सिकाइ (Better learning), को सुनिश्चितता प्रदान गर्नु हामी सबैको दायित्व हो । विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई सहयोग गर्नु सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको जिम्मेवारी समेत हो । विद्यालय सेवाक्षेत्रभित्र बसोबास गर्ने हामी सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रहनुपर्दछ । विद्यालयको मुख्य ध्येय विद्यालयको समग्र पक्षको सुधार मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु हो । विद्यालय एक सानो समाज समेत हो । समाजको प्रभाव विद्यालयमा र विद्यालयको प्रभाव समाजमा पर्ने गर्दछ । अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, विद्यार्थी, शिक्षकलगायतका सरोकारवालाहरूको सक्रिय सहभागिताको प्रवद्र्धन, गतिशील संलग्नता र अपनत्व वृद्धि हुने गरी हामी सबै लागि पर्नु पर्दछ । विद्यालय समुदायको महत्वपूर्ण सम्पत्ति भएकाले समुदायको सहयोगबाट मात्र यसको अपेक्षित विकास सम्भव छ भन्ने व्यावहारिक सिद्धान्तलाई हाम्रो विद्यालयले आत्मसात् गरेको छ । त्यसैले विद्यालयलाई प्राप्त हुने सबै स्रोतको पारदर्शी उपयोग हाम्रो साझा दायित्व हो।